काठमाडौं । नेपाली काङ्ग्रेस जनसम्पर्क समिति अमेरिकाको सभापतिमा गौतम दाहालले उम्मेदवारी दिने घोषणा गरेका छन । हिजो शनिबार समितिका सबै च्याप्टर अधिवेशन सम्पन्न भएसँगै दाहालले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
दाहालले सभापतिमा उठ्ने आधिकारिक घोषणा गर्दै भने, ‘म मेरो पदको जिम्मेवारीका कारण संगठनको काममा मात्रै सीमित थिएँ । तर आज तपाईंहरुमाँझ पहिलो पटक सभापति पदमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गर्दछु ।’ दाहाल अहिले जनसम्पर्क समिति अमेरिकाको प्रवक्ता तथा प्रचार विभाग प्रमुख छन ।
१६ वर्षपछि हुन लागेको समितिको यो चौथो अधिवेशन हो । सन् २००९ मा बाल्टिमोर च्याप्टरको महासचिवबाट नेपाली जनसम्पर्क समितिमा जोडिएका सभापति पदका उम्मेदवार दाहाल हाल नेपाली कांग्रेसको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको सक्षम नेतृत्वको दाहालले उम्मेदवारी घोषणासँगै भने, ‘मेरो रगतमै कांग्रेस बगेको छ, हरेक नेतृत्वसँग जोडिएर योगदान दिइरहेको छु । यसपटक ड्राइभिङ सिटमा बसेर नेपाली जनसम्पर्क समिति अमेरिकालाई नयाँ गन्तव्यमा पुर्याउन चाहन्छु । त्यसका लागि मलाई तपाईंहरुको सिर्जनात्मक शुभकामना चाहिएको छ ।’
गौतम ओखलढुंगाको सिद्विचरण नगरपालिकाका स्थानीय हुन । उनी ग्लोब नेपाल अन्लाईनका प्रधानसम्पादक र सञ्चारउद्यमी हुन । दाहालसग पत्रकारीताको लामो अनुभव समेत छ । उनी सानै उमेर देखि नेपाली काङ्ग्रेस पार्टीमा सक्रिय योगदान पुर्याउदै आएका युवा नेता हुन ।