फ्रान्सबाट शोभा गजुरेलको ब्लग महिला र पुरुषबिच विभेद किन ?

    
फ्रान्सबाट शोभा गजुरेलको ब्लग महिला र पुरुषबिच विभेद किन ?

शोभा गजुरेल

कस्तो देश अनि समाजमा जन्म लिएछौं हामीले। महिलाको श्रीमान् को मृत्युु भए पनि,सम्बन्ध विच्छेद भए पनि अर्को विवाह गर्न इज्जत जाने , पुरुषले चाहिँं दुइटा श्रीमती एउटै घरमा राख्दा पनि इज्जदार हुने, उसले समाजलाई कुनै जवाफ दिनु नपर्ने ? अझ उही पो समाजसेवी नेता भनेर कहलिन्छन् । कस्तो छ यो समाज ! आखिर मान्छे त नारी पुरुष दुवै हुन् ।

यो समाजलाई चलाउन दुवैको बराबर योगदान छ । भन्दा एकविनाअर्कोको अस्तित्व छैन भनिन्छ । तर नियम कानुन रीतिरिवाज यहाँ सम्म कि धर्म संस्कार अनि इज्जत पनि दुवैको लागि फरक । एउटी महिलालाई श्रीमान्को मृत्‍यु या सम्बन्ध विच्छेद को अवस्थामा पनि यो समाजले दोस्रो विवाह गर्ने अनुमति दिंदैन तर पुरुषले दुईजना श्रीमतीलाई एउटै घरमा राख्दा पनि उसको इज्जत जाँदैन ? के हो इज्जत ? के यो इज्जतको ठेक्का लिने महिला ले मात्र हो ।

बुबाको इज्जत बचाउन आफ्नो सपना बिर्सनुपर्ने श्रीमानको इज्जत बचाउन आफ्ना चाहना मार्नुपर्ने ? अझ त्यतिले पनि कहाँ अघाउँछ र यो समाज त्यही नारीले एउटै घरमा सौता समेत बेहोरेर श्रीमानकै मर्यादा लाई ध्यानमा राख्नु पर्ने ? ए समाजका ठेकेदारहरू हो इज्जत भनेको के हो ? मैले बुझिन बुझाउन कष्ट गरिदेऊ । मलाई मेरी आमाले भन्नुहुन्थ्यो इज्जत धेरै महत्वपूर्ण कुरा हो छोरी , त्यो एकपटक गयो भने फर्केर आउँदैन ।

इज्जत बचाउन धेरै गाह्रो हुन्छ यो जहाँ पनि पोखिन सक्छ सम्मालेर राख्नु । तर उहाँले यो कुरा छोरालाई भन्नुभयो या भएन मलाई थाहा भएन । मैले आफ्नी आमाले भन्नु भयको कुरा त्यो इज्जत के हो बुझें । उहाँंले प्रस्ट भन्नुहुन्थ्यो सबै भन्दा ठुलो इज्जत जाने भनेको महिला र पुरुषबिच हुने अनैतिक सम्बन्ध । अन्जान मान्छेसँग नजिक नहुनु है ! कहिलेकाहीँ आफू सही. हुँदा पनि समाजको नजरमा दोषी बन्न पुगिन्छ । त्यो दाग बन्छ मेटाउन सकिन्न । तर किन यो दाग महिलामा मात्र.सीमित भयो ? यो दाग पुरुषलाई किन लाग्दैन ? मलाई हरेक दिन यो प्रश्नले पिरोलि रहन्छ ।

उत्तर छैन, मिलोस् पनि कसरी एउटा पुरुषले दुईजना महिलालाई श्रीमती हुन् भनेर खुलेआम समाजमा चिनाउँछ तर उसको इज्जत जाँदैन । उसलाई कतै पनि दाग लाग्दैन अझ ऊ मर्द बन्छ दुइटी श्रीमती पाल्नसक्ने कति महान मान्छे ! यो सबै देख्दा मेरी आमा गलत हुनुहुन्थ्यो जस्तो पनि लाग्छ । खै ! त त्यो पुरुषको इज्जत गएन आमा भनेर प्रश्न गर्न पनि मन लाग्छ । तर मेरी आमा आफै नारी हुनुहुन्छ । उहाँका लागि त मलाई लाग्ने नियम सबै लागु हुन्छ के प्रश्न गरौँ ? महिला र पुरुष कहिले पनि एउटा रथका दुई पाङ्ग्रा हुन नसकेको यो समाज ।

छोरा र छोरीलाई समान अधिकार दिननसक्ने, निरङ्कुश बुबा अनि आफ्नी श्रीमतीलाई जीवनसाथी होइन एउटी दासीको रूपमा हेर्न मन पराउने श्रीमानहरू भएको देश  समाज । गाउँ अनि घर यसमा बाँच्न विवश बनाइएका निरीह महिला जन्मदैदेखि मृत्‍युको शैयासम्म. इज्जत बचाउँदा बचाउँंदै अन्याय. अत्याचार स्वतन्त्रता नैतिकता स्वाभिमान सबै भुलेर मात्र एउटा मात्र कुरा रट्छन घर बचाउन पर्छ । त्यस्का लागि आफु सकिनै किन नपरोस् ।

अपशोच आफ्नो अस्तित्व सबै खतम पारेर आफ्नो खुसी सबै मारेर इज्जत जोगाउन लागिपर्छन् । त्यो इज्जत जुन महिलाले मात्र जोगाउने हो पुरुषलाई न जोगाउने डर छ न दाग नै लाग्ने छ । यी सबै देख्दा भोग्दा सुन्दा प्रश्न गर्न मनलाई यो समाजलाई महिला र पुरुषबिच यो असमानता र विभेद किन ?