शोभा गजुरेल
दुई दशकको विदेशी भूमिमा मेरो एक्लो जीवनको भोगाइ अनि बसाइका अनगिन्ती दु:ख कष्ट अप्ठ्यारा पलहरू सामना गर्नु नपरेको त कहाँ हो र ! तर पनि म किन यहीँ बस्न चाहन्छु ? यो चाहिँ महत्वपूर्ण कुरो हो । मेरो देशमा मैले के पाएँ ? र के पाउन सकिन ? प्रश्न यहीँबाट सुरु हुन्छ । मेरो परिवार मध्यम परिवार भए पनि शिक्षाको ज्योतिले सुसज्जित परिवार हो ।
यही परिवामा जन्मन पाएकी म एक छोरी हुँ । यस्तो परिवेशमा मैले किन देश छोड्नु पर्थ्यो भन्ने प्रश्नहरू स्वभाविक रूपमा उठन् सक्लान् , उठ्नु पनि अन्यथा होइन । तर त्यहाँको वातावरण , बेरोजगारी समस्या आदि पनि यसको कारण बन्यो सायद । जहाँ मेरो अस्तित्व, पहिचान पनि सङ्कट्मा छ कि भन्ने लाग्यो मलाई । त्यहाँ म मेरो सोच र इच्छालाई कसैले चिनेनन् ।
मेरो चाहनालाई बुझ्ने कोही कोही भएन । म सानैदेखि सत्यको लागि लड्ने गर्थे । झुटका विरुद्ध बोल्ने गर्थे । अन्याय अत्याचार सहनु हुन्न भने ज्ञान थियो मलाई । आदर्श इमान र नैतिकता जीवनमा आवश्यक छ भन्ने लाग्थ्यो मलाई । तर म छोरी थिएँ। परम्परावादी साँघुरो घेरामा बाँधिएकी । मेरा स्वतन्त्रताहरू बन्दी थिएँ । इच्छाहरूबनिरीह थिए आमा र परिवारका लागि इज्जतको पोको कतै फुस्कियो भने पोखिने डर थियो ।
कहिले गलत बाटो नरोजी उहाँहरूको इज्जतलाई आफ्नो जीवन बनाइदिंदा पनि आफ्नो छोरीलाई उहाँहरूले विश्वास गर्दा पनि त्यो इज्जतको पोको हरपल मसँगै हुन्थ्यो । म जहाँ जाँदा पनि साथमा हुने त्यो पोको कतै गएर छोरीले पोख्ने पो हो कि ? त्यो पोखियो भने उठाउन सकिंदैन कि ?मलाई लाग्थ्यो त्यो इज्जत पानीमा घुलिने नुन जस्तै थियो । त्यसैले होला मेरी आमा र मेरा परिवारलाई मप्रति भरोसा हुँदाहुँदै पनि अर्कैले त्यो पोकोलाई छरिदिने हुन कि भन्ने ठुलो डर त्रास शङ्का उहाँहरूको कोमल मनभित्र उब्जिरहन्थो । किनकि म अत्याचार सहन्न थिएँ ।
अन्यायको विरुद्ध बोल्थें । आफ्ना स्वतन्त्रता र अधिकारका लागि लडथें । त्यो अधिकार छोरीलाई दिन घर समाज कन्जुस थियो । तौलिएर हिंडनुपर्थ्यो, तौलिएर बोल्नु पर्थ्यो । म को हुँ ? मेरी आमा ले चिने पनि त्यो समाजले मलाई अन्यायको विरुद्ध बोल्न, अत्याचारको विरुद्ध लड्न अधिकार दिंदैन थियो । त्यसकारण मेरी आमा पनि विवश हुनुहुन्थ्यो । मजस्ता हजारौं छोरी, देश परिवारबाट टाढिएर विदेशमा खुशी हुन बाध्य थियौं । किनकि यहाँ हामी बोल्न सक्छौं । त्यो इज्जतको पोकोलाई यहाँ कसैले खोसेर पानीमा नुन घोलेजसरी घोल्न सक्दैन ।
म अन्यायको बिरुद्ध बोल्न सक्छु अत्याचारका विरुद्ध लड्न सक्छु । दु:ख र सुख त जीवनमा आइरहने एउटा प्रक्रिया हो ,तर आफ्नो स्वाभिमानलाई एउटा इज्जतको टालोमा पोको पारेर सधैं त्यस्को डरमा बाँच्नुपर्ने स्थिती छैन ,यहाँ म स्वतन्त्रताको खुल्ला आकाशमा आत्मरक्षा गर्दै चरा जस्तै, बादलजस्तै, कुहिरोजस्तै स्वतन्त्र भएर जहिले पनि उड्न सक्छु । गलत बाटोमा पाइला नराख्दा पनि काँडाहरू छन् भनी डराउनु पर्ने त्यो समाजले मजस्ता लाखौं महिला लाई विदेशमा नै उडान भर्ने गन्तव्य बनाउन ठीक छ भनी यसैलाई रोज्नु परेको छ ।
आफ्ना इच्छा र सपनाको लागि अरूसँग भिख माग्नु पर्ने जीवन बाँच्न नचाहनेहरू स्वतन्त्रताको बिगुल फुकी आफ्नो अस्तित्व बचाउन, सपना सार्थक पार्न, खुसी खोज्न, विदेसी भुमिलाई रोज्ने गर्छन् र अहिले म यहाँ छु । म यो पनि मान्छु कैयौं दिदीबहिनीले स्वतन्त्रताको गलत प्रयोग पनि गरेका छन् । त्यो इज्जतको पोको लाई आफैले पानीमा घोलेका पनि छनं । तर पनि यसको जिम्मेवार हाम्रो नेपाली समाज नै हो । हरेक कुरामा प्रतिबन्ध र अङ्कुश लगायका कारण जब मानिस एकै पटक स्वतन्त्रताको उचाइमा पुग्छ नि उसले बिस्तारै हिंडने, झर्ने बाटो बिर्सन्छ ।
जब उसले आफू धेरै माथि पुगेको अनुभूति गर्छ ऊ माथि पुग्न सक्दैन । गोली लागेको चराझैं कहालिएर तल बजारिन पुग्छ। त्यसैले समाजले महिलाहरूलाई बोकाउने त्यो इज्जतको पोकोले महिलाहरूलाई कि त यातना दिन्छ कि त मृत्यु ! यो त्यसैले महिलालाई इज्जतको पोको होइन स्वतन्त्रता र प्रेम दिऊँ। प्रेरणा र उर्जा दिऊँ ।
उनीहरूलाई पनि आफ्नो अस्तित्वको रक्षा गरेर स्वाभिमानमा बाँच्ने अधिकार र वातावरण दिऊँ । एउटा इमान्दार आदर्श र नैतिकवान बनेर बाँच्न पाउने समाजको निर्माण गरौं।