ओखलढुंगाबाट काङ्ग्रेस महामन्त्रीलाई खुल्लापत्र

    
ओखलढुंगाबाट काङ्ग्रेस महामन्त्रीलाई खुल्लापत्र

खुल्ला पत्र
नेपाली कांग्रेसका महामन्त्रीद्वय
गगन कुमार थापा र विश्वप्रकाश शर्मा ज्यू ।
नेपाल आज गम्भीर राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको चक्रव्यूहमा फसेको छ। जनताको भरोसा राजनीतिक प्रणालीप्रति कमजोर हुँदै गएको छ, लोकतन्त्रप्रति प्रश्न उठिरहेका छन्, युवाहरू भविष्य खोज्दै देश छोड्न बाध्य छन्, र राज्यका हरेक तहमा असन्तोष मौलाइरहेको छ। यस्तो संवेदनशील घडीमा देशलाई दिशा दिन सक्ने, भरोसा दिलाउन सक्ने र अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने दल नेपाली कांग्रेस नै हो भन्ने विश्वास अझै पूर्ण रूपमा मरेको छैन।
तर दुःखद यथार्थ के हो भने, देश गम्भीर संकटमा हुँदा नेपाली कांग्रेस स्वयं आन्तरिक द्वन्द्व, नेतृत्वगत असमझदारी र गुटीय राजनीतिमा अल्झिएको देखिन्छ। देशलाई बचाउने बेला पार्टी आफ्नै भविष्यप्रति अनिर्णीत देखिनु केवल कांग्रेसका लागि होइन, समग्र लोकतान्त्रिक व्यवस्थाका लागि नै चिन्ताको विषय हो।
महामन्त्रीज्यूहरू,
अब नेपाली कांग्रेसका अगाडि केवल सैद्धान्तिक बहस होइन, स्पष्ट कार्यभार र समयसापेक्ष जिम्मेवारीहरू उभिएका छन्।
माघ महिनामा हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नेपाली कांग्रेसका लागि केवल निर्वाचन मात्र होइन, जनतासँग गुमेको विश्वास पुनः जोड्ने ऐतिहासिक अवसर हो। यी निर्वाचनमा पार्टीलाई जिततर्फ डोर्‍याउने अभिभारा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तपाईंहरूकै काँधमा छ। संगठन परिचालन, उम्मेदवार छनोट, गठबन्धन व्यवस्थापन र स्पष्ट राजनीतिक सन्देश यी सबै विषयमा कांग्रेसले अन्योल होइन, दृढता देखाउनैपर्छ।
यही बीचमा, पार्टीभित्र उठिरहेको विशेष महाधिवेशन को बहसले कांग्रेसलाई चुनाव केन्द्रित बनाउनेभन्दा पनि आन्तरिक शक्ति संघर्षतर्फ मोड्ने खतरा देखिएको छ। आजको प्राथमिकता पद र शक्ति होइन; आजको प्राथमिकता चुनाव जित्ने, जनताको मन जित्ने र लोकतान्त्रिक शक्तिलाई बलियो बनाउने हो। हतारो र अपरिपक्व निर्णयले गरिएको विशेष महाधिवेशनले पार्टीलाई एकताबद्ध गर्नेभन्दा पनि विभाजनलाई गहिरो बनाउने जोखिम बोकेको छ भन्ने यथार्थलाई गम्भीरतापूर्वक आत्मसात् गर्न आवश्यक छ।
महाधिवेशन अपरिहार्य नै भए पनि, वैशाखमा हुने नियमित महाधिवेशनमै केन्द्रित भएर पार्टीलाई विधि, विधान र सहमतिका आधारमा अघि बढाउनु नै दीर्घकालीन रूपमा हितकर देखिन्छ। चुनावको मुखमा पार्टीलाई कमजोर बनाउने कुनै पनि कदम इतिहासले क्षमा गर्दैन।
महामन्त्रीज्यूहरू,
नेपाली कांग्रेसले अब विगतका कमजोरीबाट भागेर होइन, त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ। सरकारमा रहँदा देखिएका असफलता, जनअपेक्षा अनुसार काम गर्न नसकिएको यथार्थ, कार्यकर्तालाई बेवास्ता गरिएको पीडा यी सबै विषयमा आत्मसमीक्षा अपरिहार्य छ। केवल बन्द कोठाभित्रको समीक्षा पर्याप्त छैन; आजको आवश्यकता भनेको आम नेपाली नागरिकसँग सार्वजनिक रूपमा क्षमायाचना गर्दै नयाँ प्रतिबद्धतासहित अघि बढ्नु हो। कमजोरी स्वीकार गर्ने पार्टी कमजोर हुँदैन, बरु अझ विश्वसनीय बन्छ।
तपाईंहरू परिवर्तनको भाषा बोल्ने, आशा जगाउने र वैचारिक स्पष्टता दिने नेताका रूपमा हेरिनुहुन्छ। त्यसैले तपाईंहरूको मौनता होइन, स्पष्टता चाहिएको छ; तटस्थता होइन, नेतृत्व चाहिएको छ। गुटभन्दा माथि उठेर पार्टीलाई एकताबद्ध गर्ने, चुनाव जित्ने रणनीतिमा केन्द्रित गर्ने र महाधिवेशनलाई सुधारको माध्यम बनाउने ऐतिहासिक जिम्मेवारी आज तपाईंहरूकै काँधमा छ।
नेपाली कांग्रेस कुनै सामान्य दल होइन—यो त्याग, बलिदान र लोकतान्त्रिक संघर्षको इतिहास बोकेको संस्था हो। त्यो इतिहासलाई कमजोर बनाउने कि नयाँ पुस्ताका लागि भरोसाको आधार बनाउने—यो निर्णय आजको नेतृत्वले गर्नुपर्नेछ। आशा छ, तपाईंहरू पद र व्यक्तिभन्दा माथि उठेर पार्टी, लोकतन्त्र र देशको पक्षमा दृढ निर्णय लिनुहुनेछ।
लोकतन्त्रको रक्षा, नेपाली कांग्रेसको पुनर्जागरण र देशको उज्यालो भविष्यका लागि तपाईंहरूको साहसी, जिम्मेवार र दूरदर्शी भूमिकाको अपेक्षासहित ।

सुजन दाहाल

प्रदेश संयोजक नेपाल तरुणदल ओखलढुंगा ।