काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकमा केही दिनदेखि नेपाल प्रहरीका एक जवानको भिडियो भाइरल बनेको छ । करिब ३७ सेकेन्डको भिडियोमा नेपाल प्रहरीका जवान माधवप्रसाद भुगाईले खुला रूपमा आफ्ना पीडा र असन्तुष्टि पोखेका हुन् ।
प्रहरीकै बर्दीमा खिचिएको उक्त भिडियोमा उनले प्रहरी सेवाभित्र पावर हुने र नहुनेबीचको भेदभावबारे प्रश्न उठाएका छन् । पावर हुनेले फ्याट् फ्याट्ट बढुवा हुने, जहाँ भन्यो त्यही सरुवा हुने । पावर नहुनेको त केही पनि नहुने ? भन्दै उनले प्रहरी सेवाको संरचनात्मक कमजोरीप्रति आक्रोश व्यक्त गरे ।
भुगाईले भिडियोमै आफ्नो परिचय दिँदै भनेका छन्, “म नेपाल प्रहरीको प्रहरी जवान माधवप्रसाद भुगाई, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छु । मेरो जागिर खाने भए खाउ, तर यदि पावर हुनेको लागि मात्रै हो भने मलाई यस्तो जागिर खानु छैन ।”
उनको यो भिडियो फेसबुक, ट्वीटरदेखि टिकटकसम्म तीव्र गतिमा फैलिएको छ । अहिले उनको अभिव्यक्तिमा प्रशंसा र बहस दुवै चलेको छ । तर सुरक्षा निकायभित्र बर्दीमै यस्तो खुलेर अभिव्यक्ति दिनु चुनौतीपूर्ण मानिन्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले पनि भिडियोमा देखिएका व्यक्ति प्रहरी जवान नै भएको पुष्टि गरेको छ । उनीमाथि बाँके प्रहरीले सोधपुछ गरिरहेको छ ।