आणविक हतियार प्रयोग गर्ने अन्तिम विकल्प बारे राष्ट्रपति पुटिनले गरे रुसको राष्ट्रिय सुरक्षा परिषदमा छलफल

    
आणविक हतियार प्रयोग गर्ने अन्तिम विकल्प बारे राष्ट्रपति पुटिनले गरे रुसको राष्ट्रिय सुरक्षा परिषदमा छलफल

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूमाथि आणविक हतियारबाट आक्रमण गर्ने चेतावनी दिएका छन । युक्रेनले रुसमा लामो दुरीको हमला गर्ने मिसाइल प्रयोग गर्न पश्चिमी देशहरूसँग अनुमति मागिरहेको समयमा पुटिनको यो भनाइ आएको हो । रुसी राष्ट्रपति पुटिनले यसअघि पनि पटकपटक आणविक हतियार प्रयोग गर्ने धम्की दिएका थिए ।

यसपटक उनले आणविक नीतिमा परिवर्तन गर्ने घोषणा पनि गरेका छन । पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइ आणविक हतियारको प्रयोगसँग सम्बन्धित नियम परिवर्तन गर्नु देशको आवस्यकता रहेको बताए । पुटिनले देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने उल्लेख गरे । यसमा रूस विरुद्ध भइरहेको मिसाइल वा ड्रोन हमलाविरुद्ध परमाणु हतियारको प्रयोग पनि समावेश छ ।

रूसी क्षेत्रमा ठूलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भयो भने देशको सार्वभौमसत्ता गम्भीर खतरामा पार्न सक्ने भएकोले रूसले आणविक हतियारहरू प्रयोग गर्न सक्ने उनले बताए । आणविक हतियार नभएको मुलुकले रुसमाथि परमाणु हतियार भएको देशको सहयोगमा आक्रमण गरेमा त्यस आक्रमण दुवै देशले गरेको आक्रमण मानिने उनले बताए । पुटिनले रुसको आणविक हतियार देश र नागरिक सुरक्षाको सबैभन्दा भरपर्दो अत्र भएको प्रष्ट्याए ।

युक्रेनलाई अमेरिकी, बेलायत र नेटोका सहयोगीले रुसी भुभाग सम्म मारहान्न सक्ने मिसाइलको अनुमती दिनुपर्ने बहस चलिरहदा पुटिनको पछिल्लो भनाई आएको हो । यदि पुटिनले आणविक हतियार प्रयोग गरे विश्वयुद्वमा संसार होमिने छ । त्यस आणविक अस्त्रको प्रयोग पछि मानव जीवन लोप हुने बैज्ञानिकहरुको अनुमान छ ।
– स्रोत एजेन्सीहरुको सहयोगमा