सिराहाको मिर्चैया नगरपालिकाका मेयर यादव लगायत विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्वा दर्ता

    
सिराहाको मिर्चैया नगरपालिकाका मेयर यादव लगायत विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्वा दर्ता

काठमाडौ । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । उच्च अदालत राजविराजको आदेशमा इलाका प्रहरी कार्यालय मिर्चैयाले उनीमाथि मुद्दा चलाएको हो । मेयर यादवसँगै अन्य १३ जनाविरुद्ध डेढ महिनाअघि मुद्दा दर्ता भएको हो । मेयर यादव नेकपा माओवादी केन्द्रबाट निर्बाचित हुन । उनले आफू माथी राजनीति प्रतिसोध साध्न केही मान्छे लागेको बताएका छ्न । तर पीडित पक्षले भने घटनाको मुख्य योजनाकार मेयर भएको आरोप लगाएका हुन ।
मिर्चैया नगरपालिका–१ स्थित मनहर्वामा २०८० वैशाख १६ गते बिहान कृषि सडकका विषयमा दुई समूहबीच विवाद भएको थियो । विवाद बढ्दै गएर कुटाकुट हुदा केही व्यक्ति घाइते समेत भएका थिए । सोही विषयमा स्थानीय रामभरोष महतो, जीवछ गाईं, कारी महतो र रासलाल कापरीले प्रहरीमा उजुरी दिएका थिए । मेयर यादवकै नेतृत्वमा आफूहरूमाथि आक्रमण भएको उनीहरूले जाहेरीमा उल्लेख गरेका थिए ।
लक्ष्मेश्वर कापरी र कलिम शेखले भने उच्च अदालतमा मुद्वा दर्ता गराएका थिए । अदालतमा परेको मुद्वामा तीन पूर्वमन्त्रीसहित १९ जनालाई प्रतिवादी बनाइएको छ । जाहेरीमा एमाले स्थायी कमिटी सदस्य, सांसद एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, माओवादीका नेता तथा पूर्वमन्त्री अजयशंकर नायक, माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री महेन्द्र पासवान प्रतिवादी छन् । यसैगरी माओवादीका नेता तथा पूर्वप्रदेश सभा सदस्य दिलीप साह, कांग्रेसका स्थानीय नेता धनेश्वर यादव, जनमत पार्टीका स्थानीय नेता अजय साह, मिर्चैयाका हरिकिशोर महतो र प्रदीप महासेठ लगायतलाई प्रतिवादी बनाइएको छ ।
यो मुद्दाका प्रतिवादी मध्येका मनोज कापरी र फरमान शेख प्रहरी नियन्त्रणमा रहेको मिर्चैयाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए । अन्य प्रतिवादीहरूको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।‘मुद्दा दर्तापछि केही मान्छेलाई हामीले नियन्त्रणमा लिएका छौं, उनले भने,अन्यको खोजी तथा मुद्दाको अनुसन्धान भईरहेको छ ।
जारी मुद्दामा उच्च अदालत राजविराजले आइतबार सरकारी वकिलको कार्यालय सिरहाबाट घटनासम्बन्धी प्रमाणित मिसिल झिकाउन आदेश गरेको छ ।