युबराज पहाडी
काठमाडौं । नेपाल प्रहरीको सहायक निरीक्षक सई हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीको पुर्ब कार्यालय सहयोगी गोबिन्द श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको बाहालवाला सई हुँ भन्दै मान्छे पक्राउ गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । खोटाङको जन्तेढुंगा गाउँपालिका– ३ घर भइ काठमाडौं बस्दै आएका २९ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
उनले चेक बाउन्स मुद्दाका फरार प्रतिवादी सरिता तामाङलाई पक्राउ गरिदिने भन्दै १५ हजार रुपैयाँ लिएर ठगी गरेका हुन । तामाङले आशिका वाईवा नाम गरेकी महिलालाई ४ लाख रुपैयाँ दिनुपर्नेमा ४ लाखको चेक दिएकी थिइन । तर उक्त चेक बाउन्स भएपछि वाइवा जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् ।
त्यही बेला श्रेष्ठले आफू सई भएको बताउँदै ठगी गरेको खुलेको हो । पक्राउ परेका श्रेष्ठले २०७३ देखि २०८० सालम्म प्रहरी कार्यालयमा सहयोगीको जागिर खाएका थिए । काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा रहेका बेला उनले जागिर छाडेको खुलेको छ ।