स्थानीय सरकारको बर्खिलापमा प्रहरी इन्चार्ज खड्का ! गाउँकार्यपालिका विरुद्धको गतिविधि

    
स्थानीय सरकारको बर्खिलापमा प्रहरी इन्चार्ज खड्का ! गाउँकार्यपालिका विरुद्धको गतिविधि

अछाम । चौरपाटी गाउँपालिका-१ अछाम स्थित सिउडी चौकीका इन्चार्ज असई पदम बहादुर खड्काको सरुवा भएको छ । उनको ठाउँमा प्रहरी सहायक निरीक्षक (असई) रमेश कुमार नाथ आएका छन् ।
खड्काले सिउँडीमा रहँदा राम्रोसँग कमाण्ड सम्हाल्न नसकेको स्थानीयको आरोप थियो । चौरपाटी गाउँपालिकाले गुणस्तरहीन मदिरा विक्रिवितरणमा रोक लगाएको थियो । तर असई खड्काले मदिरा नियन्त्रणमा कुनै चासो नदिएको आरोप स्थानीय सरकारले लगाएको छ ।
आर्थिक चलखेल गरेर स्थानीय सरकार असफल बनाउन लागेका खड्का बिदा भएका हुन । स्थानीय सरकारले बन्द गरेको गुणस्तरहीन मदिरा विक्रिवितरणमा उनले खुलेरै सहयोग गरिरहेका थिए ।
जसकारण विभिन्न घरेलु हिंसादेखि शान्ति सुरक्षामा समेत चुनौती थपिएको रिपोर्टिङ पछि उनको सरुवा गरेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । गाउँकार्यपालिकाले गरेको निर्णयविरुद्ध लागेको आरोप उनि माथी लाग्दै आएको छ । यस्तै अछाम प्रहरीले अन्य दुईवटा प्रहरी चौकीका प्रमुख पनि फेरबदल गरेको छ ।