काठमाडौ । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । शनिबार दिउँसोबाट बन्द भएको राजमार्ग खुलाउन दुई दिन लाग्ने प्रहरीले बताएको छ ।
राजमार्गको चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको छ । यसैगरी नेपालथोक र सिन्धुलीतर्फ आँपघारीमा बाटो पुर्ण अबरुद्ध भएको छ ।
पानी परिरहेकाले डाइभर्सन निर्माणमा समस्या भएको सडक बिभागले जनाएको छ । मौसमले साथ दिए अज र भोलि दिनभर काम गरेर बाटो खुलाउने बिभागको तयारी छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण कार्कीका अनुसार राजमार्गमा अड्किएका यात्रुको बैकल्पिक बाटोबाट उद्वार गरेर गन्तव्यमा पुर्याउने काम जारी रहेको बताए । उनले राजमार्ग खुलाउन एक दुई दिन लाग्ने हुँदा सूचना लिएर मात्र हिड्न आग्रह गरे ।